काठमाण्डौ,१० असोज ।
लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ ।

बिहीबारयता बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ मा सिम्रुतु खोलाले बगाउँदा ५८ वर्षीया बेगमाया दमाईको मृत्यु भएको छ ।

उता, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा त्रिपालको गोठमा सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लाग्दा ३३ वर्षीय मनरूप केसीको मृत्यु भएको छ भने उनका दाजु घाइते भएका छन् ।

त्यसै गरी, बागलुङको ताराखोला गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित राइनस बजारका २५ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

यस्तै भदौ १० गते भोटेकोशीको बाढीबाट विस्थापित नुवाकोट र रसुवाका बासिन्दाहरू लगातारको वर्षाले त्रिपालभित्रै बस्न बाध्य छन् । उनीहरूमा स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सुरक्षित जग्गाको खोजी भइरहेको जनाएको छ । यस्तै, कास्कीको घान्द्रुकस्थित प्रहरी चौकी पहिरोले क्षतिग्रस्त भएको छ ।

सुर्खेतमा रुख र बिजुलीका पोल ढल्दा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा मर्स्याङ्दी नदीमा लेदो र गेग्रान बढेपछि ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन बन्द गरी टर्वाइन सफाइ गर्न थालिएको छ ।