बुटवल,८ असोज ।
पाल्पामा निरन्तर भारी वर्षा भइरहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गरेर सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड बिहीबार राति ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पाल्पाले सूचना जारी गर्दै सिद्धार्थ राजमार्ग अन्तर्गत दोभान सिद्धबाबा खण्डमा विपद्जन्य जोखिम हुनसक्ने भन्दै रातिको लागि सडक बन्द गरिएको जानकारी दिएको छ ।

पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बाढी, पहिरो र विपद्जन्य जोखिमलाई ख्याल गरेर रातिमा सिद्धबाबा सडक बन्द हुने बताए । सिद्धबाबा क्षेत्रमा बिहीबार पनि पटक–पटक पहिरो झरेको थियो । प्रहरीले अतिआवश्यक कामबाहेक आगामी तीन दिन यात्रा नगर्न समेत आग्रह गरेको छ । अहिले पनि त्यस क्षेत्रमा ठूलो पानी परिरहेको छ ।