बुटवल,८ असोज ।
नेपाली कांग्रेसको बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन् । १५ औँ महाधिवेशनअन्तर्गत बुधबार भएको गाउँ–नगर निर्वाचनमा भण्डारीले प्रतिस्पर्धी जितबहादुर मल्ललाई हराउँदै जित निकालेका हुन् ।

विजयी भण्डारीले ४११ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मल्लले २२६ मत प्राप्त गरे । नगर कार्यसमितिको उपसभापतिमा गणेश घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ३४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तीर्थराज काफ्लेले २५७ मत पाए ।

महिला उपसभापतिमा गंगा पन्थी निर्वाचित भएकी छन् । पन्थीले ३८० मत प्राप्त गर्दा करुणा मल्लले २३९ मत प्राप्त गरिन् । त्यस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित भएका छन् । गिरीले ३४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रमेशप्रसाद अधिकारीले २२० मत पाए ।

सहसचिवमा नारायण खनाल निर्वाचित भएका छन् । खनालले ३०४ मत प्राप्त गर्दा सूर्यप्रसाद काफ्लेले २६४ मत प्राप्त गरे । युवा खुला सदस्यतर्फ सगुन पुन र डा.सन्तोषप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।

बुटवल नगर समितिको नेतृत्वका लागि भण्डारी र मल्लले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए । नगर समितिको निर्वाचनमा ६६९ मतदाता रहेकामा ६४८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।