चितवन,८ असोज ।
अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक खण्डमा रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी गरेसँगै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न प्रशासनले यो निर्णय लिएको हो ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा हस्ताक्षरित सूचनामा यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह गरिएको छ ।

साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।