बुटवल,२६ भदौ ।
रूपन्देहीको भैरहवा स्थित कालिंगा क्यासिनोमा जुवा खेल्ने पाँच नेपालीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरूलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । सिद्धार्थनगर नगरपालिका–१० मा रहेको उक्त क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराएर जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
पक्राउ पर्नेहरुमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती,पोखराका ४७ वर्षीय रोशन केसी,पोखराकै ३९ वर्षीय सुदीप आचार्य,बुटवलका ४६ वर्षीय रामु श्रेष्ठ,बुटवलकै ३६ वर्षीय चन्द्रनारायण श्रेष्ठ र क्यासिनोका पिट म्यानेजर भारतीय नागरिक २५ वर्षीय पारस भाटिया रहेका छन् ।
सो क्रममा क्यासिनोका म्यानेजरसहित ६ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी भुपेन्द्र खत्रीले बताए ।
पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय भैरहवामा राखेर अनुसन्धान अघि बढाइएको छ ।






