बुटवल,२५ भदौ ।
बुटवलमा आयोजित अन्तर विद्यालय मौलिक तीजगीत प्रतियोगिता–२०८३ को उपाधि तिनाउ ईग्लिस बोर्डिङ स्कुलले जितेको छ ।
शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १८औँ स्थापना दिवस तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । “संस्कृति संरक्षणमा शिक्षाको महत्व” विषयमा आयोजित प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा प्रथम भएको तिनाउ ईग्लिस बोर्डिङ स्कुलले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बुटवलको इन्टलेक्चुअल एकेडेमी दोस्रो हुँदै ३० हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने न्यू होराइजन ईग्लिस बोर्डिङ सेकेन्डरी स्कुल तेस्रो हुँदै १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै,देवदहको न्यू लुम्बिनी ईग्लिस बोर्डिङ स्कुल र बुटवलको लक्ष्मी माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्दै जनही ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मेयर पाण्डेयले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अस्मिना पाण्डेय, बुद्ध सामुदायिक टेलिभिजनका उपाध्यक्ष अरुणकुमार श्रेष्ठलगायतले आ आफ्नो भनाइ राखेका थिए । टेलिभिजनका अध्यक्ष झपटबहादुर गुरुङ -जेभी) ले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले तीजको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता बुटवल उपमहानगरपालिकाको मुख्य संरक्षकत्व तथा तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको हो । प्रतियोगितामा यसोदा फुड्स प्रालि मुख्य प्रायोजक तथा अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि र अर्घाखाँची सिमेन्ट लिमिटेड प्रायोजक रहेका थिए ।






