‘पक्राउ पुर्जी माग्नु नागरिकको अधिकार हो,अभद्र व्यवहार होइन’

नवलपरासी,२५ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवं नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले अभद्र व्यवहारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय,नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको इजलासले पाण्डेयविरुद्ध लगाइएको अभद्र व्यवहारको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो ।

फैसलाअनुसार २०८२ फागुन १८ गते साँझ बर्दघाट–४ स्थित पाण्डेयको पसलमा निर्वाचनविरोधी प्रचार सामग्री रहेको सूचनाका आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो । प्रहरीले खानतलासी पुर्जी दिँदा पाण्डेयले पक्राउ पुर्जी तथा आफूलाई पक्राउ गर्नुको कारण मागेका थिए ।

प्रहरीले त्यसलाई अभद्र व्यवहारको संज्ञा दिँदै मुलुकी अपराध संहिता,२०७४ को दफा ११८(१) अन्तर्गत मुद्दा चलाएको थियो । पाण्डेयले भने आफूले प्रहरीलाई अभद्र व्यवहार नगरेको र पक्राउको कानुनी आधारबारे मात्र प्रश्न गरेको बयान दिएका थिए । साक्षीहरूले समेत उनले प्रहरीलाई अभद्र व्यवहार नगरेको बताएका थिए ।

दर्जनौ ग्राहक एवं उनका नाबालिग छोराछोरी बीच विना कारण पाण्डेयलाई पक्राउ गरेको भन्दै फागुन १९ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो । तत्काल फागुन २० गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी भए पनि प्रहरीले उनलाई फागुन २२ गतेसम्म चार दिन हिरासतमा राखेर हाजिरी जमानीमा मात्र छाडेको थियो ।

यसअघि २०८२ फागुन १ गते परासीस्थित बुद्धचोकमा जनयुद्ध दिवसको ब्यानर टाँगेको विषयमा समेत पाण्डेय पक्राउ परेका थिए । पटकपटक पक्राउ गरेर विचार तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्वको काम गरेको भन्दै उतिबेला जिल्लामा प्रहरीको आलोचनासमेत भएको थियो ।

मिसिल,प्रतिवादीको बयान तथा साक्षीको बकपत्र अध्ययनपछि प्रजिअ नेपालको इजलासले प्रहरीले नियन्त्रणमा लिँदा पक्राउ पुर्जी माग्नु र पक्राउको कारण सोध्नु नागरिकको कानुनी अधिकार भएको ठहर गरेको छ । यस्तो अधिकार प्रयोग गरेको कार्यलाई मात्र आधार बनाएर अभद्र व्यवहारको कसुर कायम गर्न नमिल्ने फैसलाको निष्कर्ष छ ।

निर्वाचन बहिष्कारको राजनीतिक अभियानसँग जोडिएको यो प्रकरणले राजनीतिक असहमति,अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार प्रयोग गर्दा राज्यका निकायले अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रियामाथि समेत बहस सिर्जना गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासीले जनाएको छ । फैसलाले राज्यको कारबाहीबारे प्रश्न गर्न र आफ्नो पक्राउको कानुनी आधार माग्न पाउने नागरिक अधिकारको महत्वलाई समेत उजागर गरेको जानकारहरु बताउँछन् ।

रवि पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय सदस्य तथा संयुक्त संघर्ष समितिका जिल्ला संयोजकसमेत हुन् । तत्कालीन नेकपा माओवादीको जनयुद्धकालीन राजनीतिमा सक्रिय रहेका पाण्डेय पछिल्लो दुई दशकदेखि पत्रकारितामा सक्रिय जनपक्षीय पत्रकारका रूपमा परिचित छन् । उनी प्रगतिशील लेखक, साहित्यकार तथा पूर्वशिक्षकसमेत हुन् ।

फैसलासँगै थुनछेकका क्रममा राखिएको धरौटी रकम नियमानुसार फिर्ता गर्न, जिल्ला सरकारी वकील कार्यालयलाई जानकारी गराउन तथा मुद्दाको लगत कट्टा गरी मिसिल तामेलीमा राख्न आदेश दिइएको छ ।