बुटवल,१४ भदौ ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १६८ जना अझै सम्पर्कविहीन भएका छन् । आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गतको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त संख्यामा अझै प्रदेशका नागरिक सम्पर्कबिहीन भएका हुन् ।
जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना सम्पर्कमा आउन सकेका छैनन् । रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४, पाल्पाका ११, प्युठानका १०, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका सात, नवलपरासी पश्चिमका छ र कपिलवस्तुका चार जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म १३ जना भने सम्पर्कमा आएका छन् । रुपन्देहीका छ, दाङका पाँच, बाँकेका एक र प्युठानका एक जना सम्पर्कमा आएको विवरणमा उल्लेख छ । साथै, विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शव तथा शरीरका अंगहरू अस्पतालका शवगृहमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ ।






