पाल्पा,१४ भदौ ।
लाेककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारकाे निर्णय तत्काल फिर्ता लिन पाल्पामा क्रियाशील राजनीतिक दल तथा पत्रकार सम्वद्व संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूले माग गरेका छन् ।
आइतबार पाल्पाको तानसेनमा आयोजित नेपाल प्रेस युनियन पाल्पा शाखाकाे दशाै जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बाेल्ने अधिकांश राजनीतिक दल र पत्रकार सम्वद्व संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूले उक्त माग गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कुनै पनि बहानामा संचार माध्यम हरूलाई दिइँदै आएको लाेककल्यााणकारी विज्ञापन कटौती गर्न नहुने भन्दै सरकारको उक्त निर्णय सच्याउनुपर्नेमा जाेड दिए । पार्टीले गरेका राम्रो कामको प्रचारप्रसार गर्ने मात्रै नभएर पत्रकारहरू पार्टीका कमि कमजोरी उजागर गर्ने जिम्मेवारी र दायित्व निर्वाह गर्नबाट पनि पछि हट्न नहुने भन्दै सभापति श्रेष्ठले पत्रकारीता क्षेत्रलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने बताए ।
नेपाल प्रेस युनियन पाल्पाकी सभापति मन गहिरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल,युनियनका केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्य,राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णुप्रसाद भण्डारी,नेकपा एमाले पाल्पाका सचिव रामजी पाेखरेल,राप्रपा अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमाेर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, नेपाल प्रेस युनियन पाल्पाका संस्थापक सभापति झपेन्द्र गहिरे,युनियनका पुर्व अध्यक्ष जगदीश भट्टराई,पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनालगायतले आ आफ्नो भनाइ राखेका थिए ।
अधिवेशनले दुर्गेश मल्लको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।
,






