बुटवल,२७ कार्तिक ।
बुटवल उपमहानगरपालिका आर्थिक बर्ष २०८१/०८२ काे सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले भाैतिक पुर्वाधारसँगै मानवीय संसाधनकाे क्षेत्रमा देशकै नमुना शहर बनाउने आफुहरूकाे योजना रहेको बताउदै त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे ।

राजधानी काठमाडौंपछि शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा बुटवल अब्बल बन्दै गएको भन्दै नगर प्रमुख पाण्डेयले शिक्षा,स्वास्थ्यका साथै उज्यालो,हरियाली,सफा सुग्घर र सुरक्षीत बुटवलकाे अवधारणालाई साकार पार्न सबै जनप्रतिनिधि,कर्मचारी तथा आम बुटवलवाी एकजुट हुनुपर्नेमा जाेड दिए ।

अबको बाँकी कार्यकाल सबै एकजुट भए बुटवल साच्चिकै देशकै उत्कृष्ट शहरको रूपमा स्थापित हुने विश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले एक दुई जना जनप्रतिनिधिको पहलले मात्रै बुटवलको मुहार फेर्न सम्भव नहुने भन्दै विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताइन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालले कार्यक्रमकाे उदेश्य र महत्व बारे प्रकाश पार्दै यो प्रारम्भिक प्रतिवेदन भएकोले सराेकारवालाहरूकाे रायसुझावलाई समेटेर योजना बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।

कार्यक्रममा सञ्जय ज्ञवालीले सहजिकरण गरेको उपमहानगरपालिका सामाजिक विकास शाखा अधिकृत लक्ष्मी अर्यालले जानकारी दिइन् ।