बुटवल,२७ कार्तिक ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएकाे छ ।

उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा भएको सुनुवाइका क्रममा रविकाे तर्फबाट अधिवक्ता महेन्द्र पाण्डेय, नारायण कँडेललगायतले बहस गरेका थिए ।
दुबै पक्षका कानुन ब्यवसायीहरूकाे बहस सकिएपछि अदालत अगाडि लामिछानेका समर्थक तथा सर्वसाधारण आदेशको प्रतिक्षामा रहेका छन् ।
सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस जारी रहेको छ ।
यसअघि कार्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
आजका लागि पेसी तोकिएको रवि र छविकाे मुद्दाकाे सुनुवाइ उच्च अदालत तुलसीपुर बुटवल इजलासमा एक नम्बर इजलासको क्रम संख्या १ मा परेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गरि थुना बाहिर बसेर मुद्दा पुर्पक्ष गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिए पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको मुद्दा पनि लगाउमा राखेर हेरिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर भएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका हुन् । लामिछानेले निवेदनसाथ २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका थिए ।








