बुटवल,२७ कार्तिक ।
सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस जारी रहेको छ ।
उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस जारी रहेको हो । अदालतकाे चिया ब्रेक अघि रविकाे तर्फबाट अधिवक्ता महेन्द्र पाण्डेय र नारायण कँडेलले बहस गरिसकेका छन भने चिया ब्रेकपछि थप एक जनाले बहस गर्नेछन् ।
रवि र छविका कानुन व्यावसायीहरुकाे बहसपछि सरकारी वकिलहरूले बसह गर्ने जनाइएको छ ।
यसअघि कार्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम संख्या १ मा परेको थियो ।








