बुटवल,२५ कार्तिक ।
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय परिषद (केन्द्रीय समिति) को बैठक भाेली २६ गते बुधबार रुपन्देहीमा बस्दैछ । गत असोज महिनाको २६ गते पार्टी सम्बन्धमा कानूनी र प्राविधिक विषयको टुङ्गो लागेपछि यही कात्तिकको १ गते बसेको अनलाईन बैठकले अर्को बैठक रुपन्देहीमा बस्ने भनी (भोली कार्तिक २६ गतेको लागि) तय गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

पार्टीको केन्द्रीय समिति बैठक तयारीसहित अन्य कार्यक्रममा सहभागी हुन पार्टी अध्यक्ष केशव सूर्यवंशी यही कार्तिक १७ गतेनै रुपन्देही आइसकेको पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।

केन्द्रीय बैठकका लागि राजधानी काठमाडौं लगायत देशका अन्य ठाउँहरुबाट केन्द्रीय नेताहरु आज बेलुका सम्म रुपन्देही पुगीसक्ने साे पार्टीले जनाएको छ ।

पार्टीको जिल्ला भवन (कविराज भवन) मंगलापुरमा केन्द्रीय बैठक हुनेछ । बैठक २६ गते बिहान ९ बजेदेखि सुरु हुने महासचिव अस्लामीले बताए । उनका अनुसार बैठकका लागि विषयवस्तुहरु टिपोट गर्ने र त्यसलाई संश्लेषण गर्ने कार्य सकीईसकेको छ ।

पार्टीले लामो समय सम्म कानूनी र प्राविधिक अवरोध खेपेर अगाडि बढेको परिस्थितिमा अबका दिनमा पार्टीले अवलम्बन गर्ने नीति बारे अध्यक्ष सूर्यवंशीले नै “टेबल” गर्ने र बाँकी अन्य बिषयमा रचनात्मक छलफलबाट ठोस निर्णय गर्दै बैठक सम्पन्न हुने महासचिव अस्लामीको भनाई छ ।

केन्द्रीय समिति बैठक समापन भएपछि कार्तिक २७ गते लुम्बिनी प्रदेशका “अगुवा कार्यकर्ताहरुका लागि प्रशिक्षण र अन्तरकृया कार्यक्रम” गर्ने निर्णय कात्तिक १ गते राखिएको अनलाईन बैठकले नै तय गरेको पार्टीका नेताहरूले बताएका छन् । पार्टीको जिल्ला भवन (कविराज भवन) मंगलापुरमा नै आयोजना गरिने उक्त कार्यक्रमका लागि जिल्ला तहका नेताहरु र पालिका तहका अध्यक्षहरु समेतको सहभागिता रहने जनाइएको छ । यसका लागि प्रदेश समितिले समन्वय गर्ने कार्य भईसकेको छ ।

लुम्बिनी प्रदेशका “अगुवा कार्यकर्ता प्रशिक्षण र अन्तरकृया कार्यक्रम”का लागि नेता कार्यकर्ताहरुलाई २७ गते बिहान ९ बजेभित्र पार्टी भवन मंगलापुरमा आईसक्न सूचना भईसकेको जनाईएको छ । प्रदेश समिति, लुम्बिनी (लुथम) र जिल्ला समिति रुपन्देहीले व्यवस्थापनको जिम्मेवारी लिएको जनाइएको छ ।