बुटवल,२४ कार्तिक ।
“भाेकालाई भाेजन,प्यासीलाई पानी” महाअभियान आजदेखि बुटवलमा पनि सञ्चालन भएको छ ।

जय महाँकाल युवा समुह,रूपन्देहीको आयोजनामा आजदेखि बुटवलकाे नयाँ बसपार्कमा निशुल्क भाेजन तथा जलपान कार्यक्रम सुरु भएको हो ।

राजधानी काठमाडौं,दाङलगायत देशका विभिन्न ठाउँमा सडक बालबालिका,ज्यालामजदुरी गरेर जिविकाेपार्जन गर्दै आएका बिपन्न,असहाय, बेसहारा तथा असक्तहरूलाई भाेजन गराउँदै आएको समुहले आजदेखि बुटवलको नयाँ बसपार्कमा निशुल्क भाेजन तथा जलपान कार्यक्रम सुरुवात गरिएको जय महाँकाल युवा समूह रूपन्देहीका संयोजक देवेन्द्र बहादुर केसीले जानकारी दिए ।

आजदेखि बुटवलको नयाँ बसपार्कमा बिहान १० देखि ११ बजे तथा बेलुका ६ बजे निशुल्क भाेजन र जलपान गराइने संयोजक केसीले बताए ।
२०७२ सालको महाभुकम्पमा १२ जना आफन्त गुमाएका साविक सर्लाही हाल राजधानी काठमाडौंमा बस्दै आएका लीलानाथ भण्डारीकाे अगुवाइमा काेभिड-१९ महामारीका बेला भएको लकडाउनमा सुरूवात गरेको “भाेकालाई भाेजन,प्यासीलाई पानी” महाअभियान बुटवलमा पनि बिस्तार गरिएको जय महाँकाल युवा समूह दाङका अध्यक्ष समेत रहेका अभियान्ता डिल्लीबहादुर बस्नेतले बताए ।
निशुल्क रूपमा भाेजन तथा जलपान ग्रहण गर्दै केही सहभागी हर्षविभाेर देखिन्थे ।






