दाङ,२२ कार्तिक ।
दाङकाे देउखुरीमा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादव रहेकी छिन् ।
जुकाको औषधि खुवाउने क्रममा घाटीमा अड्केर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए ।
राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत खुवाइएको औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण दुई मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमार्टम गरी शव परिवार लाई बुझाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






