जेनजी आन्दोलनले हल्लिएकाे भ्रष्टाचार र कुशासनकाे जड अबको आन्दोलनले जरैदेखि उखेलेर फाल्ने दाबी
बुटवल,२१ कार्तिक ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान रुपन्देहीकाे आयोजनामा शनिवार बुटवलमा बृहत र्याली तथा जागरण सभा सम्पन्न भएको छ ।

आगामी मंसिर ७ गतेदेखि राजधानी काठमाडौंमा बिराेध प्रदर्शनकाे तयारी गरेको महाअभियानले त्यसको प्रचारप्रसार स्वरूप रूपन्देही जिल्ला समितिकाे बिशेष आयोजनामा शनिबार बुटवलमा शान्तिपूर्ण र्याली प्रदर्शन गर्नुका साथै जागरण सभा आयोजना गरिएको महाअभियान रूपन्देहीले जनाएको छ ।


महाअभियानका जिल्ला अध्यक्ष याेगराज भण्डारीकाे नेतृत्वमा शनिबार दिउँसो १ बजे बुटवलको रामनगरबाट सुरु भएको र्याली दिपनगर,सुख्खानगर,अस्पताललाइन,ट्राफिक चाेक हुँदै अस्पताललाइनमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीपछि आयोजित सभालाई सम्बाेधन गर्दै महाअभियानका केन्द्रीय सहसचिव संकर काेइराला,अभियान्ता दीनेश भण्डारी,रीता सेन ठकुरी,बैंक तथा वित्तीय संस्था पिडित समन्वय समिति रूपन्देहीका संयोजक मानबहादुर रसाइली,राप्रपा रूपन्देहीका नेता प्रज्वल बाेहाेरा,अभियन्ताहरू महेन्द्र शाही,रामचन्द्र कहार,चेतनाथ शर्मालगायतले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता,धर्म संस्कार तथा नागरिक बचाऔं महाअभियानले मंसिर ७ गतेदेखि आह्वान गरेको आन्दोलनमा सहभागी हुन अपिल गरे ।

देशभक्ति भावनाबाट प्रेरित भई, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकता सुदृढीकरण,मुलुकमा ब्याप्त भ्रष्टाचार,अनियमितता,बैंक तथा वित्तीय संस्थाको ज्यादतीका बिरूद्वकाे आन्दोलन घाेषणा भएको भन्दै उनिहरूले आन्दोलनमा सक्रिय सहभागी हुन रूपन्देही तथा यश क्षेत्रका जनतासँग आह्वान गरे ।

जेनजी आन्दोलनले भ्रष्टाचार र कुशासनकाे जरा हल्लाएकाे भन्दै वक्ताहरूले मंसिरको आन्दोलनले भ्रष्टाचार र कुशासनलाई जरैदेखि उखेलेर फाल्ने विश्वास ब्यक्त गरे ।

भदौ २३/२४ गतेको जेनजी प्रदर्शनका क्रममा गाेली चलाउन आदेश दिनेहरूमाथि सरकारले कारबाही गर्न नसकेको भन्दै उनिहरूले बर्तमान सरकारबाट जेनजी युवाहरूको माग सम्बाेधन नहुने भएकाेले अर्को आन्दोलन घाेषणा गर्नुपरेको बताए ।

दुर्गा प्रसाईं नेतृत्वको महाअभियानकाे अगुवाइमा भएको र्याली तथा सभालाई लक्षीत गरि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।