बुटवल,२२ कार्तिक ।
रुपन्देहीको तिलोत्तमाबाट प्रहरीले करिब १६ लाख ६५ हजार रुपैयाँ बराबरका आइफोन बरामद गरेको छ ।
तिलाेत्तमा नगरपालिका–१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनमा बेवारिसे अवस्थामा फेला परेको झोला भित्र विभिन्न मोडेलका ३१ थान आइफोन भेटिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका मोबाइलहरूको अनुमानित मूल्य करिब १६ लाख ६५ हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
अबैध रूपमा नेपाल भित्र्याइँदै गरेकाे अवस्थामा मोबाइल बोकेका व्यक्तिहरू प्रहरी देखेपछि झोला फ्याँकेर फरार भएकाे प्रहरीको दाबी छ । प्रहरीका अनुसार बरामद गरिएका मोबाइल आवश्यक कार्यबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएकाे छ ।
त्यस्तै, प्रहरीले भन्सार चोरी तस्करीमार्फत नेपाल भित्र्याइएका अन्य सामान पनि बरामद गरेको छ । ती सामानमा जिन्स पाइन्ट ९४ थान, कुर्ता सेट ८४ थान, सल १६ थान, मोजा १०८ जोर, कुर्ता १६ थान, गुल मञ्जन ४८ पिस र केराउका २ बोरा रहेका छन्। यी सबैको मूल्य करिब ९० हजार रुपैयाँ बराबर हुने अनुमान गरिएको छ ।
यसैबीच घर फोडी चोरी गर्ने एक व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ । बुटवल–११, चन्द्रनगरस्थित चन्द्रकला रानाको घरमा गत असोज १३ गते भएको चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–७ का सुमल घले पक्राउ परेका हुन् ।
सोधपुछका क्रममा घलेको साथबाट चोरी गरेको सुनका गरगहना — सुनको झुम्का १ जोडी, सुनको हार १ थान, सुनको बाला १ जोडी, सुनको तिलहरी १ थान, सुनको मंगलसूत्र १ थान — साथै एक थान मोबाइल र नगद ८० हजार रुपैयाँ बरामद गरिएको रूपन्देही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका घलेविरुद्ध चोरी र मुद्रा अपचलनसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।








