बुटवल,२१ कार्तिक ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक वचाउ महाअभियान रुपन्देहीकाे आयोजनामा भाेली कार्तिक २२ गते शनिवार बुटवलमा माेटरसाइकल र्याली तथा जागरण सभा हुने भएको छ ।

आगामी मंसिर ७ गते राजधानी काठमाडौंमा बिराेध प्रदर्शनकाे तयारी गरेको महाअभियानकाे प्रचारप्रसार स्वरूप रूपन्देही जिल्ला समितिकाे बिशेष आयोजनामा भाेली शनिबार बुटवलमा शान्तिपूर्ण माेटरसाइकल र्याली तथा जागरण सभा आयोजना गरिएको महाअभियानका केन्द्रीय सहसचिव संकर काेइरालाले जानकारी दिए ।

शनिबार बिहान ११ बजे बुटवलको रामनगरबाट सुरु हुने र्याली राजमार्ग चाैराह,मिलनचाेक,बसपार्क हुँदै अस्पताललाइनमा पुगेर सभामा परिणत हुने उनलेे बताए ।

देशभक्ति भावनाबाट प्रेरित भई, राष्ट्रिय अखण्डता र राष्ट्रिय एकता सुदृढीकरणको निमित्त रुपन्देही जिल्लाको विशेष आयोजनामा भाेली कार्तिक २२ गते शनिवार बृहत् शान्तिपूर्ण र्याली आयोजना गरिएको महाअभियानले जनाएको छ ।

देशका लागि समर्पण, अनुशासन र एकताको प्रतीक यो र्यालीमा सहभागी भई आफ्नो उपस्थितिबाट राष्ट्रिय एकता सुदृढीकरणमा ऐतिहासिक योगदान पुर्‍याउन नागरिक वचाउ महाअभियान रूपन्देहीले आह्वान गरेको छ ।