बुटवल,२० कार्तिक ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा जिल्ला अदालत रूपन्देहीले जारी गरेका आदेश र फाइलहरू झिकाउने आदेश गरेको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका लामिछाने र जोशीले आफूहरूलाई तोकिएको बिगो बराबरको रकम बुझाएर रिहा हुनुपर्ने माग गर्दै दिएको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उक्त आदेश गरेको हो ।
सुप्रिम सहकारीको रकम ठगीमा लामिछाने सहितका चार जना प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको थियोे ।
तोकिएको सामूहिक बिगोमध्ये आफ्नो भागमा पर्ने रकम बुझाएर रिहा गर्नुपर्ने माग गर्दै लामिछानेले निवेदनसहित २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत रूपन्देही जिल्ला अदालतमा पेस गरेका थिए ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उक्त निवेदनमाथि सुनुवाइ गर्दै लामिछानेको माग बमोजिम रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको निर्णय विरुद्ध त्यसपछि लामिछानेले गत भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।
सोही निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्लाको फाइल झिकाउन आदेश गरेको हो ।
अब जिल्ला अदालतबाट फाइल पेस भएपछि लामिछाने र जोशीको निवेदनमाथि सुनुवाइ हुने छ । बिहीबार जोशीका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा न्यायाधीशले मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्र अर्को पेसी चढ्ने र सुनुवाइ हुने निर्णय सुनाएपछि लामिछानेका कानुन व्यवसायीले बहस गर्न नपाइ बिहीबारको सुनुवाइ टुंगिएको हो ।
सहकारीका बचतकर्ताहरूको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
मुद्दाको अर्को पेसी कहिले तोकिने भन्ने यकिन भइसकेको छैन । यसअघि अघिल्लो बिहीबार तोकिएको पेसी जोशीका कानुन व्यवसायीले सारेका थिए ।








