“अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न सरकारका यसअघिका निर्णय अक्षरस पालना गर्नुपर्नेमा जाेड”
बुटवल,१९ कार्तिक ।
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘कार्गो उडान हब’ काे रूपमा विकास गर्न सरकारी आयोगले सुझाव दिएको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले भौगोलिक अवस्थितिका कारण यो विमानस्थल नेपालभरिबाट निर्यातजन्य वस्तु ओसारपसार गर्न सहज देखिएको भन्दै आयोगले अन्तर्राष्ट्रिय यात्रु सेवा निरन्तर राख्न सरकारका यसअघिका निर्णय अक्षरस पालना गर्नुपर्नेमा जाेड दिएको छ ।

विमानस्थलमा न्यून यात्रु चाप र व्यावसायिक घाटाका कारण वायुसेवा कम्पनीले नियमित उडान गर्न नसकेको निष्कर्ष निकाल्दै आयोगले वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण ‘इकोसिस्टम’ स्थापना गर्न सुझाव दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्यातजन्य वस्तुको चाप बढिरहेको अवस्थामा नेपाल भित्रिने ठूला वायुसेवा कम्पनीलाई कार्गो उडानमा आकर्षित गर्न सकिने सिफारिस आयोगले जनाएको छ ।

‘गौतमबुद्ध विमानस्थलले कार्गोका लागि निर्यात पूर्वाधार केन्द्रका रूपमा रहन सक्ने क्षमता राख्छ, देशको वस्तु निर्यातका लागि अब उच्चस्तरको रणनीतिक कार्यक्रम बनाउने अवसर देखिएको छ,’ आयोगकाे प्रतिवेदनमा उल्लेख छ ।

आयोगले नेपाली व्यवसायीलाई वायुयान लिजिङ सहित विशेष सुविधा उपलब्ध गराइ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बेस रहने गरी कार्गो एयरलाइन्स सञ्चालन गर्न आह्वान गर्नसमेत सुझाव दिएको छ ।

विमानस्थलकाे अन्तर्राष्ट्रिय प्रवर्द्धनको काम कमजोर देखिएको आयोगको भनाइ छ । सोहीकारण लुम्बिनीलाई धार्मिक र सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावनातर्फ ध्यान नपुगेको आयोगको ठहर छ ।