स्वाधीन संयुक्त सरकार गठन हुनुपर्ने माग
नवलपरासी,१९ कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुले मुलुकमा दक्षिणपन्थी हावा चलिरहेको बताएका छन् ।

त्यसैको उपजका रुपमा नक्कली कम्युनिष्ट र संसदवादी शक्तिहरुमा बिग्रह आएको उनीहरुकाे निष्कर्ष छ ।

बुधवार नवलपरासीको बर्दघाट–४ देवीनगरमा सम्पन्न पार्टीको नगर संगठन समितिको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै नेताहरुले उक्त कुरा बताएका हुन ।

जेनजी बिद्रोहको एक झोक्काले नामधारी कम्युनिष्टहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत धेरैलाई त्राहिमाम बनाएको भन्दै उनीहरुले संसदवादी दलहरुकाे भष्ट्राचार तथा कमिशनखोरीकै कारण जेन्जी बिद्रोह भएको दाबीसमेत गरे ।

मुलुकमा ब्याप्त भ्रष्टाचार र कुशासनकाे बिरूद्व जेन्जी बिद्रोह भएको दाबी गर्दै उनिहरूले जेनजी युवाहरूको बिद्रोहलाई बैदेशिक शक्तिले दुरुपयोग गरेको बताए । संसदीय ब्यवस्था असफल भइसकेको जिकिर गर्दै बक्ताहरुले नयाँ जनवादको खुड्किलो पार गरेर देशलाई बैज्ञानिक समाजवादमा लैजाने योजना आफनो पार्टीसँग मात्रै रहेको उल्लेख गरे ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय र क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले प्रशिक्षण मन्तब्य राखेका थिए ।

देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन आवश्यक रहेको नेताहरुले जोड थियो ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्यद्वय गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीको समेत आतिथ्यता रहेको पार्टीले जनाएको छ । कार्यक्रम नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता ज्ञान बहादुर केसीको संचालनमा भएको थियो ।

यसैबीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिको जिम्मेवारी हेरफेर गरिएको छ । नगर संयोजक रामप्रसाद अर्गेजालाई क्रान्तिकारी युवा संघ नेपालको जिम्मेवारी दिदै पार्टी नगर संयोजकमा ज्ञान बहादुर केसीलाई जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।

तीन महिना भित्र नगर सम्मेलन सम्पन्न गर्ने योजना सहित सेल तथा वडा समिति विस्तार, गठन पुर्नगठन र वडा भेला सम्मेलनलाई तीब्रता दिने योजना समेत रहेको संयोजक केसीले जानकारी दिए ।

नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको हो ।