बुटवल,१९ कार्तिक ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधन गरेर मात्रै जेनजी पुस्ताले उठाएका माग सम्बाेधन गर्न सम्भव हुने बताएका छ्न् ।
संविधान संशोधन नगरी जेनजी पुस्ताले उठाएका माग सम्बाेधन गर्न सम्भव नहुने उनको भनाइ छ ।
जेनजी आन्दोलनपछि बुधबार पहिलोपटक गृह जिल्ला रूपन्देहीमा सार्वजनिक कार्यक्रममा सहभागी भएका उपाध्यक्ष पाैडेलले मुलुकलाई संवैधानिक मार्गमा ल्याउन पनि संसद पुन:स्थापना गर्नुपर्ने तर्क गरेका हुन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुर्व उपप्रधानमन्त्री समेत रहेका पाैडेलले भदौ २३ र २४ गतेको घटना अनपेक्षित घटनाको संज्ञा दिदै घटनाको स्वतन्त्र र निस्पक्ष छानबिन गरि दाेषिलाई कानुनी कारबाही गर्नुपर्नेमा जाेड दिए ।
भदाै २३ गते जेन-जी युवाकाे हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने भन्दै उनलेे भदौ २४ गतेको आगजनी र विध्वंसको पनि छानविन गरि दाेषिलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखे ।
जेनजी प्रदर्शनका क्रममा घटेका घटनालाई अनपेक्षित घटनाको संज्ञा दिएका तत्कालीन सरकारका उपप्रधानमन्त्री समेत रहेका पाैडेलले देशमा त्यत्रो घटना घटाउने योजना बारे सरकारले सुइँको नपाएको हो कि सुचना पाएर पनि गम्भीरतापूर्वक नलिएको हो भन्ने पत्रकारको जिज्ञासाकाे जवाफ भने दिएनन् ।
पत्रकारहरूले राखेका जिज्ञासाकाे लामै लिस्ट टिपाेट गरेका पाैडेलले
केही जिज्ञासा मेटाउने प्रयास गरे पनि केही जिज्ञासामा प्रवेशै गरेनन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच कुनै मनमुटाव नरहेको दाबी गर्दै उनलेे पुर्व राष्ट्रपति भण्डारी पार्टी राजनीतिमा आउने कि नआउने अथवा कहिदेखि आउने भन्ने बिषय आपसी समझदारीमा टुंगिने बताए ।
एमालेको आगामी महाधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने बताउदै पौडेलले पार्टी अध्यक्षसहित पदाधिकारीसम्म सर्वसम्मत रूपमा चयन हुने विश्वास ब्यक्त गरे ।
प्रेस चाैतारी नेपाल रूपन्देही अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव बिष्णु घिमिरेले सहजिकरण गरेका थिए ।








