बुटवल,१८ कार्तिक ।
विद्युत महशुलकाे बाँकी बक्यौता तिरेपछि पञ्चकन्या स्टिलसहित रूपन्देहीका चारवटा उद्योगमा विद्युत लाईन जडान भएको छ
नेपाल विद्युत प्राधिकरणले भनेअनुसार ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेवापतको वक्यौताको पहिलो किस्ता बापतकाे रकम बुझाएपछि काटिएको विद्युत लाईन जडान भएको हो । बुटवल- भैरहवा औद्योगिक कोरिडरमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लाष्ट र श्याम प्लाष्टिक उद्योगमा विद्युत लाईन जडान गरिएको प्राधिकरणले जनाएको छ ।
रूपन्देहीका चार उद्योगले सोमबार बक्यौतावापतको पहिलो किस्ता तिरेपछि लाईन जडान गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
प्राधिकरणका अनुसार उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।
पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार रूपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रूपैयाँ, सिद्धार्थ पेटप्लास्टको १ करोड ८३ लाख रूपैयाँ र श्याम प्लाष्टिकको ४९ लाख १० हजार रूपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
रुपन्देहीमा लाईन काटिएका १३ वटा उद्योगमध्ये ९ वटा उद्योगको लाईन अझै जडान गरिएको छैन् । लाईन जडान हुन नसक्दा उद्योगमा उत्पादन ठप्प भएको छ भने हजारौं श्रमिक बेरोजगार बनेकाे उद्योगीहरूले बताएका छन् ।








