बुटवल,१८ कार्तिक ।
भैरहवाको होटल निर्वाणा परिसरमा गोली चल्दा होटलका एक सुरक्षा गार्ड घाइते भएका छन् ।
साेमबार मध्यराति होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच विवाद भएको र एउटा समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा सुरक्षागार्डमाथि गोली प्रहार गरेकाे प्रहरीले जनाएको छ ।
घाइते हुनेमा होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार रहेका छन् । उनको तिघ्रामा गोली लागेको छ ।
रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीका अनुसार घाइते परियार राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेत सञ्चालनमा छ ।








