नवलपरासी,१७ कार्तिक ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ ।
देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने साे पार्टीको जाेड छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर कार्यालयको बैठकमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले
बर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भन्दै देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकार गठनको पक्षमा संघर्ष उठाउने पार्टीको योजना रहेको बताएका हुन् ।
पछिल्लो समय देशको राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनता थप संकटमा परेको भन्दै उनलेे स्वाधीन संयुक्त सरकारको योजना लिएर आफूहरु जनतामाझ जाने बताए ।
सो अवसरमा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारी, ज्ञानबहादुर केसी र नगर संयोजक राम प्रसाद अर्गेजाले विचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा बर्दघाट नगरमा पार्टीको अवस्था र खेल्नुपर्ने भुमिकाको साथै बैचारिक रुपमा प्रशिक्षित गर्ने योजना बारे छलफल भएको साे पार्टीले जनाएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (बहुमत) को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नामाकरण भएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बर्दघाट नगर समिति हाल १३ सदस्सीय रहेको पार्टीले जनाएको छ ।








