बुटवल,१७ कार्तिक ।
रुपन्देहीका विभिन्न स्थानबाट प्रहरीले साढे ३९ लाख बढीको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका छुट्टाछुट्टै ठाउँबाट साढे ३९ लाख बढीको अवैध सामान बरामद गरेको हो । कार्तिक १२ देखि १५ गतेसम्म जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका अन्दाजी मूल्य ३९ लाख ७० हजार १ सय ३० रुपैयाँ बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामानमा बलेरो पिकअप, ई–रिक्सा, मोटरसाइकल, ट्रफी (मायाको चिनो), चुरोट, सूट रुमाल, ललिपप मिठाई, दैनिक उपभोग्य किराना सामग्रीहरु, लेडिज टप्स, लेडिज सुट, कष्टमेटिक सामानहरु, आयुर्वेदिक औषधी, पाइन्टको कपडा, रोल सटको कपडा, साडी, लेहङा, कुर्था, टाई लगायत रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।
सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार नियन्त्रणमा लिइएका सामानहरु आइतबार आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।








