बुटवल,१७ कार्तिक ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा आगामी माघ १४ गतेदेखि बुटवलमा कृषि मेला लाग्ने भएको छ ।
आज सोमवार बसेको संघको कार्यसमिति बैठकले आगामी माघको १४ देखि १८ गतेसम्म बुटवलको प्रदर्शनी स्थल ‘बुटवल मण्डप’ मा कृषि मेला गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालकाे अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म कृषि मेला आयोजना गर्ने निर्णय गरेको महासचिव अधिकारीले बताए । साथै बैठकले यस बर्षकाे कृषि मेलालाई नमुना कृषि मेलाका रुपमा सम्पन्न गर्ने निर्णय भएको उनको भनाइ छ ।
कृषि क्षेत्रको विकास र प्रवर्द्वनका लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला गर्दै आएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए ।
नेपालमा परम्परागत रुपमा हुँदै आएको कृषि प्रणाली पछिल्लो समयमा व्यावसायिक रुपमा सुरुवात भएको र यसलाई अझै कसरी बैज्ञानिक बनाउन सकिन्छ र कसरी प्रतिस्पर्धी क्षमताको विकास गर्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिने अध्यक्ष अर्यालले बताए ।
कृषि प्रणालीको विकास र प्रर्वद्धनका लागि किसान, सेवा प्रदायक संस्थाहरु, उपभोक्ता र सरकार बिचको तारतम्य मिल्न आवश्यक रहेकोमा उनकाे जाेड छ । ‘मेलामा यी चार संयन्त्रको तारतम्य कसरी मिलाउन सकिन्छ भन्ने कुराको समेत खोजी हुनेछ’, उनले भने । त्यसैगरी मेलामा कृषिजन्य उत्पादनहरुको प्रदर्शनी, बिक्रि वितरण, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी तथा विक्रि वितरण, किसान, उपभोक्ता, सेवा प्रदायक संस्थाहरु र सरकार बिच अन्तरक्रिया लगायतका कार्यक्रम गरिने संघले जनाएको छ ।
बैठकले मजदुर नेता कमल गौतमको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुटवल निवासी जिफण्टका केन्द्रीय उपाध्यक्ष गौतमको यहि कार्तिक १३ गते बिद्युतकाे ट्रंक लाईन विवाद समाधानका लागि भैरहवामा आयोजना गरिएको उद्योगीहरुको विरोध प्रदर्शनमा मन्तव्य राख्ने क्रममा वेहोस भई लडेर मृत्यु भएको थियो ।








