पाल्पा,१२ कार्तिक ।
पश्चिम पाल्पाको छहरामा ईभी भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ईभीका चालक ३१ वर्षीय कमल रायमाझीसहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक रायमाझी रैनादेवी छहरा–४, अमलावासका हुन् ।

दुर्घटनामा चालक रायमाझीसहित रैनादेवी छहरा–१, सिद्धेश्वर घर भई छहरा अमलावास बस्ने मुक्तबहादुर बुढाथोकी र रैनादेवी छहरा–४, छहरा मेहलढापका रामबहादुर गाहाको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त ईभी गाडीमा चालकसमेत तीन जना रहेको छहराका स्थानीयले जानकारी दिएका छन् । बुटवलबाट पाल्पा जिल्ला सदरमुकाम तानसेन हुँदै रैनादेवी छहराको मेहलढापतर्फ जादै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको ईभी भ्यान बुधबार दिउँसो रैनादेवी छहरा–४, छहरा बोखर नजिकै भन्ज्याङमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाग्रस्त ईभी सडकदेखि झन्डै २०० मिटर तल खोल्सामा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार इलाका प्रहरी कार्यालय मुझुङ्को प्रहरी टोली पुगेर उद्धार गरी अस्पताल पठाएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।