बुटवल,१२ कार्तिक ।
रुपन्देहीका छुट्टा छुट्टै ठाउँमा भएका सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित सडकमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको इभी गाडी अनियन्त्रित भई मङ्गलवार राति दुर्घटना हुँदा गाडीमा सवार सैनामैना नगरपालिका-८ बस्ने ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका- ५ बस्ने ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेमबहादुर विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पिपरा अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडी चालक समेत २ जनाको लुम्बिनी सिटी अस्पताल बुटवल तथा अन्य २ जनाको मर्सिसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिंगानगरस्थित सडकमा लु.४२ प ३५४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भएका ३५ वर्षीय सूर्यप्रसाद अधिकारीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।








