बुटवल,९ कार्तिक ।
रूपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । थाई एयर एसियाको एयरबस ३२० जहाज आज दिउँसो १२:४८ बजे १७ यात्रु लिएर भैरहवामा अवतरण गरेको हो ।

मध्याह्न १२:१५ बजे अवतरण हुने भनिए पनि केही ढिला गरी विमान अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियाको उडान हप्तामा दुई दिन आइतबार र बुधबार हुने तालिका रहेको छ । आजको उडानपछि नियमित सेवा पुनः सुरु भएको र यसले विमानस्थलको व्यस्तता पुनः बढाउने उनलेे बताए ।

थाई एयर एसियाको जहाजले आजै साँझ १६२ यात्रु लिएर थाईल्याण्डका लागि उडान गर्नेछ । गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत भइरहेका बेला भैरहवामा दैनिक चारवटा अन्तर्राष्ट्रिय उडान भएका थिए ।

त्यस अवधिमा दुई सयभन्दा बढी उडानमार्फत ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ । त्यसयता केही चार्टर उडानबाहेक नियमित सेवा स्थगित भएको थियो ।भङड

घढबौद्धमार्गीको बाहुल्यता रहेको थाइल्याण्डसंग सिधा हवाई सेवा सुचारु भएसंगै गौतमबुद्ध जन्मस्थल लुम्बिनी आउने थाई पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा राखिएको छ ।