नवलपरासी,७ कार्तिक ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टा बस्ने ४४ वर्षीय सन्तबहादुर ठाडा मगर रहेका छन् । उनको देउसी भैलो खेल्न आएका युवाहरूको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

बिहीबार राति देउसी भैलो खेल्न दुमकट्टा गाउँमा पुगेको समूहका केही युवाले नाचगानकै क्रममा सन्तबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते सन्त बहादुरलाई उपचारका लागि स्थानीय लुम्बिनी मेडिकल सर्दि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नेपालले बताए ।

घटनामा संलग्न रहेको आशंकामा तीन युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर रहेका छन् । मृतकको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।