पाल्पा,४ कार्तिक ।
पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा एक महिलाको हत्या भएको छ । गएराति करिब १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेकाे प्रहरीले जनाएको छ ।
विश्वकर्माको कुटपिटबाट मृतक फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी पनि घाइते भएका छन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
घटनामा संलग्न रहेको आराेपमा विश्वकर्मालाई पक्राउ गरेको छ । उनलाई घरमै लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । कुटपिटमा धारिलो हतियारसमेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








