बुटवल,४ कार्तिक ।
रुपन्देहीमा करिब साढे १८ लाखको सामानसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका इलाका तथा चाैकीबाट खटिएको प्रहरी टाेलीले करिब साढे १८ लाखको सामानसहित दुई जनालाई पक्राउ गरेको हाे । जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा करिब १८ लाख ४२ हजार मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी,प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट ४२ हजार मूल्य बराबरको फाइबर सिरानी २१० पिस, ३ लाख मूल्य बराबरको ना २ ह ७१ र लुम्बिनी प्रदेश ०१–००१ ह १७७१ नम्बरको ई–रिक्सा २ थानसहित त्यसमा संलग्न सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षिय अलाउदिन चुरिहार र सिद्धार्थनगर–६ बस्ने ५५ वर्षिय मिहाज अहमदलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भारतको दिल्ली बस्ने ४८ वर्षिय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षिय पवन अली र ३८ वर्षिय साहिद मलिक मिली डि एल-५ सि एन ९०९७ नम्बरको भारतीय कारमा राखेर सामान ल्याउँदै गरेको अवस्थामा सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट विभिन्न सामानहरु नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार ७ लाख २० हजार मूल्य बराबरको डेर्मी-५ क्रिम २४५ प्याकेट, ग्लास किट १ हजार थान, पान पराग १४ प्याकेट र रजनीगंधा २१० प्याकेट, ७ लाख ८० हजार मूल्य बराबरको गाडीसहित १५ लाख बराबरको सामान बरामद भएको छ । सोहेब, पवन र साहिदको साथबाट भारतीय ६४ हजार र पाकिस्तानी १० हजार रुपैयाँ बरामद भएकोले उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।