पाल्पा,२० असाेज ।
पाल्पाको रम्भा गाउँपालिका–१, हुँगी संगाहामा भएको कार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँच जनाको अवस्था सामान्य छ ।

रूपन्देहीको सुनौलीबाट पुर्बी पाल्पाको रामपुरतर्फ जाँदै गरेको बा १९ च ६६६१ नम्बरको कार कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–१, हुँगी संगाहा स्थित ढुंगामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । कार सडक छेउको ढुंगामा ठोक्किएर पल्टिएको प्रहरी नायब उपरीक्षक चाैधरीले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।