बुटवल,२० असाेज ।
लगातारको बर्षासँगै आएको बाढी पहिरोका कारण अलपत्र परेका यात्रुको उद्धारका लागि नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले आज सोमबार दिउँसो काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गर्ने भएकाे छ ।

निगमको जहाजले काठमाडौं–भैरहवा–काठमाडौं चार्टर्ड उडान गर्ने भएपछि नेपाल वायुसेवा निगमको भैरहवा स्थित टिकट काउन्टरमा यात्रुको भीड लागेको छ ।

विपद्का कारण सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपछि अशक्त, बिरामी, बैदेशिक रोजगारीमा जाने व्यक्ति लक्षित गरेर आइतबार राति ९ बजेका लागि उडान अनुमति मिले पनि प्राविधिक कारण जनाउँदैं निगमले प्रेस बिज्ञप्ती जारी गरेर उडान तालिका सोमबार दिउँसोका लागि सारेको थियो ।

निगमको १ सय ५८ सिट क्षमताको एयरवस ३२० ले उडान भर्ने सूचनापछि उत्साहित भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रु उडान स्थगित भएको सूचनापछि निराश बनेर फर्किएका थिए । सोमबार दिउँसो एक बजे निगमको विमान भैरहवा अवतरण गर्नेछ । साे विमान दिउँसो २ बजेर ४५ मिनेटमा भैरहवाबाट काठमाडौं प्रस्थान गर्ने निगमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

सोमबार दिउँसो २ बजेर ४५ मिनेटमा तय भएको उद्धार उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

हिजो विभिन्न कारणले उडान स्थगित भए पनि आज दिउँसो उडान हुने उनलेे बताए ।