बुटवल,१७ असाेज ।
नवलपरासी पश्चिम र चितवनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-२ नयाँबस्तीस्थित सडकमा पनि परासीबाट सुनवलतर्फ आउँदै गरेको बा.८२ प ९८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया प्रमिला तेलीको मृत्यु भएको हो ।

बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको तिनाउ ईन्टरनेशनल हस्पिटल बुटवल रूपन्देहीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता चितवनको भरतपुर महानगरपालिका-७ पिपल चोकमा भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ग.२ ख १४०४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-७ बस्ने ७२ वर्षीया नन्दाकली कंडेलको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।