बुटवल,१४ असोज ।
रुपन्देहीकाे बुटवलसहित देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देविनगरबाट ब्राउनसुगर जस्तो देखिने ३ ग्राम ६१ मिलिग्रामसहित २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूलाई स्कुटर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मकवानपुरको बकैया गाउँपालिका–४ तुलसीपुरबाट ३१ वर्षीय रोजित लामिछाने खैरो हेरोइन जस्तो देखिने ५१० मिलिग्रामसहित पक्राउ परेका छन् । अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–७ कण्ठपुरमा भारतबाट नेपालतर्फ पैदल आएका २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारू ब्राउनसुगर जस्तो देखिने १ ग्राम १५० मिलिग्रामसहित पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाम नगरपालिका–८ तिल्केनी मोडस्थित सडकबाट ३१ वर्षीय विशाल आचार्य ब्राउनसुगर जस्तो देखिने ३४० मिलिग्रामसहित पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






