बुटवल,१२ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले जेन जी पुस्ता र उनीहरूको मागलाई स्थानीय रुपमा सम्बोधन गर्न आव्हान गरेका छन् । सो पार्टीको बुटवल उपमहानगरपालिकाका समितिले आयोजना गरेको बुटवल उपमहानगरपालिकाभित्र रहने केन्द्र देखि वडा तहका नेताहरु सहभागी भएको “मन्थन कार्यक्रम” मा महासचिव अस्लामीले उक्त आव्हान गरेका हुन् ।

मूलुकको अग्रगामी निकासका लागि वर्तमान संविधानको खारेजी वा नयाँ संविधान दुवै एजेण्डा असान्दर्भिक भएको महासचिव अस्लामीको भनाइ छ ।

नेपाली जनताले मूलुकको लोकतान्त्रिकरणका लागि गरेको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धीको संस्थागत दस्तावेज वर्तमान संविधान भएकोले यसलाई बचाउंदै संविधान पुनर्लेखनका लागि राष्ट्रिय ध्यानाकर्षण गराउन पार्टीका स्थानीय नेता कार्यकर्ताहरु समेत कृयाशिल हुन नेता अस्लामीको निर्देशन छ ।

हालै जेनजी पुस्ताले सतहमा ल्याएको एजेण्डा आफ्नो पार्टीले विगत ३५ वर्षदेखि अथक र अनवरत रुपमा नेपाल र नेपालीको हितका खातिर जनतामाझ उजागर गर्दै आएको स्मरण गर्दै नेता अस्लामीले मूलुकको स्थायी शान्ति र दिगो विकासका लागि जनमुक्ति विचारधारा एकमात्र विकल्प हो भन्ने कुरा गर्वका साथ जनतामा जान बुटवल उपमहानगरपालिका भित्रका आफ्ना वडा अध्यक्षहरूलाई निर्देशन दिए ।

“हामी आफ्नो देशको सामाजिक एवं प्राकृतिक विविधताको यथार्थतालाई आत्मसात गर्दै यहाँको उचित राजनीतिक व्यवस्थापनको लागि संघर्षरत छौं । यस सन्दर्भमा पार्टीगत र लोकतान्त्रिक अभ्यासमा पनि धेरै उतारचढावलाई सम्हाल्दै अथक रूपमा कृयाशिल रहीआएका छौं । पछिल्लो कहियौं पुस्ताले राज्य व्यवस्थाका कतिपय पक्षमा तनाव लिनै नपरोस् भन्ने उद्देश्यका साथ हाम्रो निरन्तर कृयाशिलता हो ।”-महासचिव टोप अस्लामीले पार्टीको संकल्प स्मरण गराए ।

जनमुक्ति पार्टी अब देशकै विकल्प भएको बताउदै महासचिव अस्लामीले यसका लागि सर्वसाधारणको सार्थक सोंचलाई समेत राष्ट्रिय जनमुक्ति पार्टीले मूलुकको एजेण्डा बनाएर शसक्त रुपमा कृयाशिल हुने गृहकार्य गरीरहेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रिय महिला मोर्चाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष मधु राना, जिल्ला उपाध्यक्ष थर्क बाह्रघरे, रुपन्देही क्षेत्र नं. २ का अध्यक्ष दुत बहादुर गुरुङ, बुटवल नगर अध्यक्ष भेक बहादुर थापा लगायत विभिन्न वडाका अध्यक्षहरू, सल्लाहकार गोपाल चौहान लगायतले देशको वैकल्पिक राजनीतिक विचार (जनमुक्ति विचारधारा) लाई ध्वस्त पार्न कृयाशिल केही खराब प्रवृत्ति र तत्वका विरुद्ध पार्टी नेतृत्व तह हिम्मतका साथ अगाडि बढ्न सुझाव दिए ।

उनिहरूले भने-“देश बनाउने मात्र हाम्रो एकमात्र एजेन्डा हो । देश बिगार्न वा निहित स्वार्थ पूरा गर्न हाम्रो कृयाशिलता कहिल्यै थिएन र हुंदैन । अबको जनमुक्तिले एक इन्चको खराबीलाई पनि नसियत दिने गरी सतहमा नै आउने गरी कृयाशिल हुन जरूरी छ ।”

राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल नगर अध्यक्ष भेक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सचिव ज्ञान सलामी, केन्द्रीय सदस्य एवं राष्ट्रिय महिला मोर्चाका महासचिव धनी आले, केन्द्रीय सदस्य विमला गुरुङ समेतको सहभागिता रहेको पार्टीका बुटवल नगर कोषाध्यक्ष रूद्र चिलीले जानकारी दिए ।

रूपन्देही सहित राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी प्रदेशमा उल्लेखनीय पकड रहेको साे पार्टीले जनाएको छ ।