बुटवल,११ असोज ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरिवेक्षणको जिम्मा पाएको काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ ले जनाएको छ ।
२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको भवन निर्माण कार्यको भौतिक प्रगति हालसम्म २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरिवेक्षण गरिरहेका काठमाडौ यूनिकन्सल्टका ईन्जिनियर मन्नु प्रसाद चौधरीले जानकारी दिए ।
पाँच बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहे पनि भवन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त कम्पनीले तीन बर्षमै सक्ने लक्षसहित काम गरिरहेको आयोजनाका कन्सल्ट्यान्ट ईन्जिनियर चौधरीले बताए ।
आयोजनाको हालसम्मको प्रगति लक्ष्य अनुरुप अगाडी बढेको बताउदै उनले कुनै बाधा अबरोध नभए निर्धारीत समय अगावै काम सकिने विश्वास ब्यक्त गरे ।
अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको सो आयोजनाको प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले सुपरिवेक्षण गरिरहेको साइट इन्जिनियर शंकर सुवेदीले बताए । निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा खटिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।
आयोजनाका अनुसार हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ ।
अस्पतालका पूराना संरचना हटाउने काम (साइट क्लियरेन्स) पछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको आयोजनाको दाबी छ ।
पाँच बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि ३ वर्ष भित्रै सक्नेगरी कामले तिब्रता पाएको प्राविधिकहरुको भनाई छ ।
सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरेको छ ।
२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको निर्माण कार्यको म्याद आगामी २०८५ पुस २५ सम्म रहेको छ ।
निर्माणाधीन नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।








