बुटवल,८ असोज ।
रूपन्देहीको गैडहवामा करेन्ट लागेर श्रीमान– श्रीमतीको मृत्यु भएको छ ।

गैडहवा गाउँपालिका वडा नं ६ का ७५ वर्षीय रामरतन सैठवार र उनकी श्रीमती ६८ वर्षीय अकाली सिंह सैठवारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुप्न्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

आज बिहान ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्दा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको हो ।

सुरुमा अकाली सिंहलाई करेन्ट लागेको र श्रीमतीलाई छुटाउन जाँदा रामरतनलाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ ।

मोटरमा रहेको तारमा पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।