पाल्पा,४ असाेज ।
संविधान दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले मौन जुलुस प्रदर्शन गरेको छ । शुक्रबार (असोज ३) संविधान र संघीयताको रक्षार्थ मौन प्रदर्शन गरिएको साे पार्टीले जनाएको छ ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संविधानलाई समयसापेक्ष र आवश्यकताअनुसार संशोधन गर्दै संरक्षण गर्नु दलहरूकाे साझा जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।
संविधान दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै सभापति श्रेष्ठले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई संविधानकाे व्यवहारिक कार्यान्वयन, सुशासन कायम गर्दै राजनीतिक संक्रमणलाई सही दिशामा अघि बढाउने गम्भीर जिम्मेवारी प्राप्त भएको जनाएका हुन् ।
जेनजी आन्दोलनले समेत नेपालको संविधानलाई स्वीकार गर्दै यसलाई नयाँ पुस्ताका लागि मार्गनिर्देशक दस्तावेजको रूपमा स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ ।






