बुटवल,३ असाेज ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टाेप अस्लामीले प्राप्त उपलब्धिकाे रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नु अहिलेकाे आवश्यकता भएको बताएका छन् ।

शुक्रबार रूपन्देहीको तिलाेत्तमामा आयोजित मुलुककाे पछिल्लो घटनाक्रमले सिर्जित विषम परिस्थितिकाे सन्दर्भमा संविधान दिवसकाे ” अन्तरकथा तथा विचार मन्थन” कार्यक्रममा महासचिव अस्लामीले हालसम्मको प्राप्त उपलब्धिलाई जोगाउदै, थप उपलब्धिको लागि अगाडि बढ्नु अहिलेकाे आवश्यकता भएको बताएका हुन् ।
नेपालको संविधान-२०७२ ले आज एकदशकको अवधि पूरा गरेको अवस्थामा सत्तासीनहरुबाट नै इमानदारीपूर्वक संविधानकाे पालना नगरेको भन्दै उनलेे तर पनि, मुलुकमा लामो संघर्ष, त्याग र बलिदानको जगमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने राष्ट्रिय दस्तावेजको रूपमा संविधान-२०७२ रहेको उल्लेख गरे ।
हालसम्मको प्राप्त उपलब्धिलाई जोगाउदै, थप उपलब्धिको लागि अगाडि बढ्ने राजनीतिक प्रकृया भनेको संविधान-२०७२ को पुनर्लेखनका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ भन्ने पार्टीको मान्यता रहेको जनाउँदै महासचिव अस्लामीले मुलुकलाई सुरक्षित र एकताबद्ध ढंगले अग्रगामी दिशामा अगाडि बढाउनका लागि संविधान खारेजी वा नयाँ संविधानको बहसमा अल्मलिनु भन्दा संविधान-२०७२ को पुनर्लेखनको राष्ट्रिय कार्यदिशा समात्नु श्रेयस्कर हुने तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।
पार्टीका उपाध्यक्ष एवं अनुगमन तथा मुल्यांकन बिभाग प्रमुख दलबहादुर बिरकट्टा मगरले संसद विघटन भएको अवस्थामा संविधान संसाेधन या पुनर्लेखन सम्भव नभए पनि अध्यादेश मार्फत माग सम्बाेधन गर्न सकिने भन्दै जेनजी पुस्ताको आन्दोलनकाे मुख्य उदेश्य भन्दा फरक परिदृस्य देखिन थालेको तर्फ सचेत हुनुपर्नेमा जाेड दिए ।
क्षतिग्रस्त संरचना पुननिर्माणका लागि जनतासँग अपिल गर्ने कुरा चलेको भन्दै उनलेे यो प्राकृतिक बिपत्ति नभएर नियाेजित घटना भएकोले पुननिर्माणका लागि जनताले सहयोग गर्न नसक्ने बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिका अध्यक्ष झम बहादुर गुरूङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहा,महासचिव राेशन अस्लामी,पार्टीका रूपन्देही जिल्ला अध्यक्ष प्रेम थापालगायत १७ जना नेता कार्यकर्ताहरूले मुलुकको पछिल्लो अवस्था र पार्टीकाे भुमिका बारे आ आफ्नो भनाइ राखेको पार्टीका प्रदेश सचिव चित्रप्रसाद गुरूङले जानकारी दिए ।






