बुटवल,२ असोज ।
लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशन अन्त्य भएको छ । प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै भदौ ३१ गते राति १२ बजेदेखि नै प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएको हो ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधान १८३ को उपधारा २ बमोजिम २०८२ भदौ ३१ गते राति १२ बजेदेखि लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी सुचनामा जनाइएको छ । २०८२ वैशाख ३१ गतेदेखि सुरु भएको छैटौं अधिवेशनमा १७ वटा बैठक बसेको थियो ।
बैठकमा सरकारको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । अधिवेशनको पहिलोदेखि १२ औं बैठकसम्म प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम, प्रिबजेट लगायतका विषयमा छलफल गरेका थिए । अधिवेशनको १३ औं बैठकमा बजेट प्रस्तुत भएको थियो । १४ औं बैठकबाट बजेट माथिको छलफल सुरु भएको थियो । १५ औं बैठकमा अर्थ विधेयकमाथि दफावार छलफल, १६ औं बैठकमा विनियोजन विधेयकमाथि दफावार छलफल गरेर १७ औं बैठकले बजेट पारित गरेको थियो ।
बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक बस्दै नबसी भदौ ३१ गतेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको हो ।
प्रदेशसभाको छैटौं अधिवेशनमा दुई विधेयक दर्ता भए पनि ति दुवै विधेयकमाथि छलफल हुन सकेन । सचिव पुनका अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता भएका थिए ।