भौतिक प्रगति ६१.०६ प्रतिशत र वित्तीय प्रगति ५१.०१ प्रतिशत
पाल्पा,३१ भदौ ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लाइनिङको काम सकिएको छ । मुख्य टनेलकै सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम सबै सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।
सुरुङभित्रको पर्खाललाई कंक्रिट, सटक्रिट, ब्लक तथा अन्य सामग्रीले छोप्ने काम भएको उनले बताए । त्यसले सुरुङलाई स्थायित्व दिने, ढुंगामाटो झर्ने सम्भावना कम गर्नुका साथै पानीको चुहावट रोक्ने उनको भनाई छ । लाइनिङपछि सुरुङ सुरक्षित, मजबुत र प्रयोगयोग्य हुने प्रमुख अधिकारीले बताए ।
भुईंको ढलान (इन्भर्ट) को काम यसअघि नै सकिएको छ । इन्भर्टको काम पनि १०८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । यससँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढेको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम गर्नुपर्ने प्रमुख अधिकारीले बताए । इन्भर्ट र लाइनिङको काम सकिएपछि उत्तर र दक्षिण पोर्टलको काम अघि बढेको उनले बताए ।
उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माणको काम समेत भइरहेको छ । उत्तरतर्फ फाउन्डेसन तयार गरिएको र दक्षिणतर्फ पनि काम भइरहेको उनले बताए । बीचमा कुनै अवरोध वा अन्य केही समस्या नआए अबको ७ महिनामा मुख्य टनेलबाट सवारी साधन गुडाउन सकिने आयोजना कार्यालयले जनाएको छ । यहाँ रहेका तीन वटा बाइपासमा पनि लाइनिङ र इन्भर्टको काम धमाधम अघि बढेको छ । बाइपास एक अन्तर्गत १ सय ५१, बाइपास दूई १ सय ६१ र बाइपास तीन १ सय ३० मिटर लम्बाई रहेको छ ।
आयोजना कार्यालयका अनुसार बाइपास १ मा इन्भर्टको काम १ सय ४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १२९.७ मिटर भइसकेको छ । बाइपास २ मा इन्भर्टको काम १५७.८ मिटर भइसकेको छ भने लाइनिङको काम ६५.४ मिटर भइसकेको छ । बाइपास ३ मा इन्भर्टको काम १२५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १०९.८ मिटर भइसकेको छ ।
सुरुङमार्ग मुख्य टनेलको कामलाई तीव्रता दिएर सक्ने आयोजनाको तयारी छ । सवारी साधन भित्रबाट पठाएर बाहिर अहिलेको सडकमा काम गर्ने योजना भएकाले पनि भित्री कामलाई तीव्रता दिइएको आयोजना प्रमुख अधिकारीले बताए । बाहिर भीरपाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुने भएकाले पहिले मुख्य टनेलबाट सवारी साधन गुडाउने अवस्थामा पु¥याउने योजना अनुसार काम भइरहेको उनले बताए ।
सिद्धबाबा क्षेत्रको जोखिमयुक्त क्षेत्रमा स्लोप स्टेबलाइजेन र रक ब्यारियर विधि प्रयोग गरेर सडक सुरक्षित बनाउने कामसमेत अघि बढेको छ । सम्भावित दुर्घटनाको क्षेत्रमा ढुंगाहरू हटाइने र पहाडको माथिल्लो भागमा बलियो तारजालीसमेत बिच्छ्याउने कार्य हुने उनले बताए । जसबाट पहिरो सम्भावित क्षेत्रलाई स्लोप प्रोटेक्सनको काम सुरु भएको छ । यहाँका पहाडमा रक ब्यारिएर हुनेछ । सुरुङ क्षेत्रको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५ मिटर स्लोप प्रोटेक्सनको काम भइसकेको कार्यालयले जनाएको छ ।
आयोजनाका अनुसार उत्तरतर्फ ११०० मध्ये ४९५ काम सकिएको छ । एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१ मात्रै भएको छ । एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजना प्रमुख अधिकारीले बताए । एमआर वन रिभरसाइड १३६० र एमआर टु रिभर साइड ५०० मिटरको काम भने प्रगति भएको छैन । आयोजना अन्तर्गत निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ९ वटा कल्भर्टको काम सकेर नाली निर्माणको काम गरिरहेको छ । भदौ ३० गतेसम्म सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६१.०६ प्रतिशत र वित्तीय प्रगति ५१.०१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
आयोजनाको प्याकेजअन्तर्गत चिडियाखोला–सिद्धबाबा मन्दिर र सुरुङको उत्तरी मोहोडादेखि दोभानसम्मको सडकमा समेत आधुनिक प्रविधिबाट जोखिम न्यूनीकरणको काम हुने आयोजनाले जनाएको छ । बलियो तारजालीले ५ हजार किलोसम्मका ढुंगालाई थाम्न सक्षम हुने बताइएको छ ।
आयोजनाका अनुसार वर्षा सकिएलगत्तै चिडियाखोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा रक ब्यारियर, स्लोप प्रोटेक्सनको काम हुनेछ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा सुरुङ मार्ग बनाउने ठेक्का सम्झौता गरेको छ । यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।
सुरुङ मार्ग बनेपछि लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची,स्याङ्जा, पोखरा, बागलुङ, मुस्ताङलगायतका क्षेत्रका नागरिकले सुरक्षित यात्रा गर्न पाउनेछन् ।