गुल्मी,३१ भदौ ।
जेनजी आन्दोलनका क्रममा बुटवल स्थित राजस्व अनुसन्धान कार्यालयबाट चोरी भएका सामग्रिहरु गुल्मीमा बरामद भएको छ ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आउदै गरेका एक युवकबाट तम्घास स्थित देउरालीमा रहेको प्रहरी चेकपोष्टबाट सोमबार एक लाख ५० हजार मूल्य बरावरका सामग्रिहरु बरामद भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा सोमबार अपरान्ह बुटवलबाट सार्वजनिक यातायात मार्फत गुल्मीको इस्मा गाउँपालिका –२ स्थित घर जाँदै गरेका युवकलाई शंका लागेर सोधपुछ गर्दा उक्त सामग्रि फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिए ।

बरामद गरिएका सामग्रिहरुमा कम्प्यूटर, कुर्ता, साडी, जुत्ता–चप्पल, विद्युतीय चुरोट लगायतका एक दर्जन भन्दा बढी सामग्रिहरु रहेका छन । उक्त सामिग्रहरु राजस्वछली गरेर ल्याईएको अवस्थामा राजस्व अनुसन्धान कार्यालयले बरामद गरि राखेका सामानहरु हुनसक्ने बताईएको छ ।

पक्राउ परेका युवकको नाम भने प्रहरीले गोप्य राखेको छ । बरामद गरिएका सामानहरुको मुचुल्का गरेर युवकलाई बोलाएको समयमा उपस्थितहुने गरी अभिभावको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।