बुटवल,२८ भदौ ।
स्वतन्त्र नागरिक समूह नेपालले नवगठित अन्तरिम सरकारलाई स्वागत गर्दै समयमा निर्वाचन गरी संविधान संशोधन गर्न आग्रह गरेको छ । पुराना दलहरु असफल र भ्रष्टाचारी भएकाले जेनजी पुस्ताले ल्याएको परिवर्तन जनताको पक्षमा रहेको समूहको ठहर छ ।
शनिबार अपरान्ह रुपन्देहीकाे ड्राइभरटोलमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरेले अन्तरिम सरकारका प्रधानमन्त्री शुसीला कार्कीलाई बधाइ ज्ञापन गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गरी संविधान संसोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।
संविधान सभादेखि यसअघिका निर्वाचन वहिष्कार गरेको स्वतन्त्र नागरिक समूहले अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले गराउने निर्वाचनमा सहभागी भएर मतदान गर्ने निर्णय गरेको अध्यक्ष गैरेले बताए ।
अबको ६ महिना भित्र निर्वाचन गराएर एक वर्ष भित्र नयां संविधान बनाउनु पर्ने बताउंदै अध्यक्ष गैरेले देशलाई अगाडी बढाउनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख हुनुपर्ने बताए । २०७२ को संविधान असफल भैसकेकाले अब नयां संविधान बनाउनु पर्ने उनलेे बताए ।
जेनजी पुस्ताको आग्रहलाई स्वीकार गरी शासन प्रणालीलाई अविच्छिन्न राख्न राजनीतिक तथा न्यायिक क्षेत्रमा निपूर्ण कार्कीलाई सरकारको नेतृत्व सुम्पिएर राम्रो गरेको उनको भनाइ छ । कार्की नेतृत्वकाे वर्तमान सरकारले स्वतन्त्र नागरिक समूहको आवश्यकता महशुस गरेमा सरकारलाई हरप्रकारले सहयोग गर्ने बताउंदै अध्यक्ष गैरेले भने – “हामीले समयमै निर्वाचन सम्पन्न गर्नका लागि यो सरकारलाई सहयोग गर्छौ । हामी गणतन्त्रबादी हौ । लोकतन्त्रमाथि विश्वास छ ।”
उनलेे प्रदेश संरचना खारेज गरेर धार्मिक सहीश्णुता सहितको हिन्दुराष्ट्र र देशमा शान्ति सुव्यवस्था कायम गरी देशलाई विकासको नयां मोडलबाट अगाडी बढाउनुपर्नेमा जोड दिए । आन्दोलनका क्रममा मृत्युु भएका मृतकप्रति श्रदाञ्जली अर्पण गर्दै स्वतन्त्र नागरिक समूहले घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैरेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष दिलबहादुर रानाले बताए ।