बुटवल,२८ भदौ ।
संसद विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ ।

साविकको प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएकोले संसद विघटनसँगै उपनिर्वाचन सम्बन्धि सबै कार्यक्रम रद्द भएको हो ।

रिक्त प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन गर्न लागिएकोमा प्रतिनिधि सभानै विघटन भएकोले उपनिर्वाचन स्वतह रद्द भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाे भनाइ छ ।

आउँदो कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन तोकिएको थियो। राप्रपाका सांसद दीपक बोहराको निधनपछि उक्त स्थान रिक्त थियो ।

मनाङमा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ मा हुन लागेको निर्वाचन तालिका भने यतावत् रहेको भण्डारीले बताए । उक्त क्षेत्र दीपक मनाङे भनिने दीपक गुरुङ ज्यान मुद्दामा दोषी ठहर भएपछि खाली भएको थियो ।

‘प्रतिनिधि सभा मात्र विघटन भएको हो। प्रदेश सभा त जीवित छ नि,’ भण्डारीले नेपालखबरसँग भने, ‘प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनको कार्यक्रम यथावत् छ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै शुक्रबार प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरिएको छ ।