File: A view of Butwal City. Photo: THT

बुटवल,२३ भदौ ।
जेनजीकाे प्रदर्शनका कारण तनावग्रस्त भएपछि रुपन्देहीको बुटवल र भैरहवाका विभिन्न स्थानमा कफर्यु आदेश जारी भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भदौ २३ गते सोमबार अपरान्ह ४ देखि राती १० बजेसम्म कफर्यु आदेश जारी गरिएको जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आदेश जारी गरिएको उनले बताए ।

कफर्युकाे समयमा कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवल क्षेत्र अन्तर्गत पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कफर्यु जारी गरिएको छ । त्यस्तै भैरहवा क्षेत्र अन्तर्गत पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म र बुटवल–बेलहिया सडकखण्डको दाँयाबाँया १ सय मिटरसम्म जारी गरिएको छ ।