भ्रष्टाचार विरुद्ध चरणबद्ध संघर्षको घोषणा
नवलपरासी,१९ भदाै ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्र बनाउँदै एकैदिन जिल्लाका तीनवटा गाउँपालिकालाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको छ ।
विहीवार आयोजित कार्यक्रममा पार्टीले प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै जनतालाई साथ लिएर चरणबद्ध संघर्ष अघि बढाउने चेतावनी दिएको छ ।
प्रतापपुर गाउँपालिकामा बुझाइएको २० बुँदे ज्ञापनपत्रमार्फत पार्टीले गाउँपालिका भित्रको भ्रष्टाचार, अनियमितता, सार्वजनिक सम्पत्तिको दुरुपयोग, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा देखिएको कमजोरीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले भ्रष्टाचारविरुद्धको अभियान तीन चरणमा सञ्चालन हुने जानकारी दिँदै भने, “पहिलो चरणमा जनचेतना जगाउन ज्ञापनपत्र, दोस्रो चरणमा भ्रष्टाचारीहरूको भण्डाफोर, र तेस्रो चरणमा जनकारबाही हुनेछ ।”
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा व्याप्त विकृति तथा विसंगतिका विरुद्ध जनस्तरबाट संघर्ष गर्ने पार्टीको योजना रहेको बताए ।
कार्यक्रममा पार्टीका जिल्ला सचिवालय सदस्य तथा पालिका संयोजक यम बहादुर गुरुङले शिक्षा, स्वास्थ्य, कृषि, यातायात, पर्यटन र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका मागहरू प्रस्तुत गरेका थिए । ज्ञापनपत्र ग्रहण गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश यादवले गाउँपालिकाले सक्ने मागहरू तत्काल सम्बोधन गर्ने र बेला मौकामा पार्टीले पालिकालाई सुझाव दिनुपर्ने प्रतिक्रिया दिए ।
आजै पार्टीको पाल्हीनन्दन गाउँ संगठन समितिले पनि पाल्हीनन्दन गाउँपालिकामा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) र प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडसंग छुट्टाछुट्टै भेट गर्दै, भष्ट्राचार देशको प्रमुख दुश्मन भइसकेकोले भ्रष्टाचारमा संलग्न जो सुकै भएपनि त्यसै छाड्न नहुने विचार ब्यक्त गरे । सो अवसरमा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले पाल्हीनन्दन गाउँपालिकाको जनताका तर्फबाट बिभिन्न जनसरोकार समाबेश गरिएको ज्ञापन पत्र प्रस्तुत गरेका थिए।
पार्टीबाट पाल्हीनन्दन गाउँपालिकाको जिम्मा समेत पाउनुभएका चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, “राज्य सत्ता भ्रष्ट र कमिसनखोरीको अखडामा परिणत भएको छ । वर्तमान व्यवस्था प्रतिको जनताको अविश्वास सडकमा प्रकट भइरहेको छ । यस्तो अवस्थामा देशमा फासिवाद, प्रतिगमन वा क्रान्तिका परिवेश तयार हुँदैछन् ।” यदि मागहरू बेवास्ता गरिएमा पार्टी चरणबद्ध आन्दोलनमा जान बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्यस्तरका नेताहरु ज्ञान बहादुर केसी र मेखनारायण चौधरी लगायतको सहभागीता रहेको थियो ।
यसबीच विहीवार नै सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरी समक्ष १९ बुदें ज्ञापनपत्र बुझाइएको छ । पार्टीका पालिका संयोजक मेखनारायण चौधरीले उक्त ज्ञापन पत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पार्टीका युवा नेता रवि पाण्डेयले ज्ञापन पत्र प्रचारात्मक नभई बिशिष्ट रहेकोले ज्ञापन पत्रका माग पूरा गर्न गाउँपालिकालाई आग्रह गरे । जिल्लाका सातवटै पालिकामा ज्ञापनपत्र बुझाउने योजना रहेकोमा पाँच वटा पालिकामा ज्ञापन पत्र बुझाएको र थप भण्डाफोरका कार्यक्रम गर्ने पार्टीले जनाएको छ ।






