बाँके,१९ भदौ ।
बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले धमलालाई सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोगका अनुसार उनले अदालतको फैसलाकाे नक्कल (प्रतिलिपि) उपलब्ध गराउने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरेका थिए ।
धमलालाई आज नेपालगञ्ज उपमहानगरपालिका–९, शान्तिनगरस्थित यातायात चोकबाट घुससहित पक्राउ गरिएको आयोगले जनाएको छ ।
पक्राउ परेका धमलामाथि आवश्यक थप अनुसन्धान जारी रहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।







